२०८२ फागुन १ शुक्रवार
जुगल न्युज
जुगल सिन्धुपाल्चोक्। सापकोटा ले नेपाली काङ्ग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी मा औपचारिक प्रवेश गर्नुभएको छ।
सिन्धुपाल्चोक जिल्लाका सक्रिय नेता तथा जिल्ला सदस्यका रूपमा परिचित सापकोटाको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ। भोटेकोसी गाउँपालिकामा लामो समयदेखि संगठन निर्माणमा सक्रिय रहँदै आएका उहाँले अब राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाउने बताउनुभएको छ।
उहाँलाई पार्टी प्रवेश गराउँदै भरत प्रसाद पराजुली ले स्वागत गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं १ का उम्मेदवार पराजुलीले सापकोटाको आगमनले पार्टी संगठन अझ सशक्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार इमानदार र जनतामुखी नेतृत्वको आवश्यकता आजको समयको माग हो र अर्जुन सापकोटाजस्ता अनुभवी नेताको साथले पार्टीलाई थप ऊर्जा मिल्नेछ।
यस अवसरमा सापकोटासहित दर्जनौं कार्यकर्ताहरू पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशको तयारीमा रहेको जानकारी प्राप्त भएको छ। यसले जिल्लाको राजनीतिक समीकरणमा उल्लेखनीय प्रभाव पार्ने विश्लेषण गरिएको छ।
स्थानीय राजनीतिक जानकारहरूका अनुसार यो प्रवेशसँगै भोटेकोसी गाउँपालिका र आसपासका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक उपस्थिति बलियो बन्ने संकेत देखिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै दलहरूबीच प्रतिस्पर्धा अझ रोचक हुने अपेक्षा गरिएको छ।








