माघ २०/२०८२
अमृत स्याङ्बो
सिन्धुपाल्चोक । जुगल गाउँपालिका–५, चनौटेमा अवस्थित श्री रत्न राज्य माध्यमिक विद्यालयले ६२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा मनाएको छ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा लामो समयदेखि विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका तथा अध्ययनमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक टोकादत्त पौडेलले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण महानुभावहरूप्रति विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। साथै यहाँहरूबाट प्राप्त सकारात्मक तथा रचनात्मक सल्लाह–सुझावलाई विद्यालयको सर्वाङ्गीण विकासका लागि मार्गदर्शनका रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।”
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जुगल गाउँपालिका अध्यक्ष श्री रेशम स्याङ्बो ज्यू, विशेष अतिथिका रूपमा श्री हिमालकुमार श्रेष्ठ ज्यू तथा अतिथिहरूमा जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज के.सी. ज्यू र शिक्षा अधिकृत प्रदीप पराजुली ज्यूको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, अक्षयकोष दाताहरू, आजीवन सदस्यहरू, पूर्व शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, सुरक्षाकर्मी मित्रहरू, विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरू, शिक्षक–अभिभावक संघका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको थियो।











