‘मंगोलियन हार्ट’ बेलायतमा पुनः गुञ्जिँदै

मङ्सिर २३/२०८२
काठमाडौं । नेपाली पप संगीतको स्वर्णयुग बोकेको लोकप्रिय ब्याण्ड ‘मंगोलियन हार्ट’ आगामी १३ डिसेम्बरमा बेलायतमा लाइभ प्रस्तुति लिएर उपस्थित हुँदैछ। नेपाली समुदायबीच विशेष उत्साहका साथ प्रतिक्षित यो कन्सर्ट लन्डनस्थित ह्यारो सेन्टरमा आयोजना हुने भएको छ।

बुधबार बिहान नै युके प्रस्थान गर्न लागेको ब्याण्डलाई आयोजक जीटी बेस इन्टरटेन्मेन्टले आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। ब्यान्डका व्यवस्थापक तथा गिटारिस्ट बबी लामाका अनुसार, “हामी पूर्ण तयारीसँगै प्रस्तुत हुन उत्साहित छौँ। युकेका दर्शकमाझ मंगोलियन हार्टको ऊर्जा पुनः सुनाउन पाउँदा रोमाञ्चित छौँ,” उनले बताए।

कार्यक्रममा मंगोलियन हार्टले आफ्ना दर्जनौँ सदाबहार तथा चर्चित हिट गीत प्रस्तुत गर्नेछ। ‘पर्खाइमा’, ‘बादलपारिको देशबाट’, ‘गाजलु टीका’, ‘सुम्निमा’, ‘म माया लाउँदिन’, ‘तिमीलाई देखेर’, ‘सायद तिम्रो बाटोमा’ लगायतका गीतमा दर्शक नाच्न–गुनगुनाउनुपर्ने निश्चित छ।

सन् १९९२ मा स्थापना भई ३३ वर्षको यात्रामा पुगेको यो ब्याण्डले लोक, स्लो–रक, पप–मेलोडी लगायत विविध जनरामा आफ्नै पहिचान बनाएको छ।
हाल ब्यान्डमा—
राजु लामा (मुख्य गायक)
बबी लामा (रिदम गिटार)
सन्तोष थापामगर (ड्रम)
भूपेन्द्र बज्राचार्य (लिड गिटार)
पवन कपाली (बेस)
विनय महर्जन (बाँसुरी)
बाबुराजा महर्जन (मादल)
सक्रिय छन्।
बेलायतमा बसोबास गर्ने नेपाली समुदायका लागि ‘मंगोलियन हार्ट’को लाइभ प्रस्तुति स्मरणीय संगीत–सन्ध्या बन्ने अपेक्षा गरिएको छ।