मङ्सिर ६/२०८२
काठमाडौं । नेपालको पहिलो र ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ । राष्ट्रिय संग्रहालय छाउनीबाट शनिबार (मंसिर ६) उक्त प्रेस गोरखापत्र संस्थानमा फिर्ता गरिएको हो ।
संग्रहालयका प्रमुख अरुण नकर्मीले गोरखापत्रका नायब कार्यकारी सम्पादक रामप्रसाद हुमागाईंलाई उक्त प्रेस हस्तान्तरण गरे । करिब १२५ वर्षअघि गोरखापत्र छाप्न प्रयोग गरिएको संस्थानको कोठामा अब उक्त प्रेस राखिने तय भएको छ । ०३६ असोज १ गते संरक्षणका निम्ति प्रेसलाई संग्रहालयमा पठाउने निर्णय गरिएको जनाइएको छ ।
प्रेस हस्तान्तरण गर्नुअघि संग्रहालयका अधिकृत सुवास डंगोलसहितको टोलीले संस्थानको भ्रमण गरी आवश्यक सुझावसहित प्रतिवेदन दिएको थियो । विगतमा संरक्षणका निम्ति संग्रहालयमा पठाइएको उक्त प्रेस स्थान अभाव र जडानसम्बन्धी दक्ष जनशक्ति नहुँदा कतिपय पार्टपुर्जा खुला आकाशमुनि चउरमा रहेका थिए भने केही स्टोरमा थन्किएका थिए । केही पार्टपुर्जा भने गोरखापत्र संस्थान परिसरको जमिनमा पनि दबिएको हुन सक्ने अनुमान गरिएको छ ।
इन्जिनियरिङ क्याम्पस थापाथलीमा मेकानिकल विषयमा अध्ययनरत केही विद्यार्थीले स्वयंसेवी रूपमा प्रेसको आवश्यक मर्मतका निम्ति सहयोग गर्ने बताएका र राष्ट्रिय आविष्कार केन्द्रको मद्दतका लागि पनि छलफल भइरहेको गोरखापत्रका नायब कार्यकारी सम्पादक हुमागाईंले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्कंदा १९०८ मा उक्त प्रेस नेपाल ल्याएको इतिहास छ । बेलायतबाट ल्याइएपछि सुरुमा प्रधानमन्त्री राणाकै थापाथली दरबारमा राखिए पनि पछि गोरखापत्रमा पठाइएको जनाइएको छ । रासस








