अमृत स्याङ्बो
सिन्धुपाल्चोक । जुगल पर्यटन प्रबर्दन तथा वातावरण संरक्षण मञ्च नेपालले आयोजना गरेको जुगल हिमाल बेस क्याम्पसम्मको ट्रेकिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।
जुगल हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन र दिगो विकासलाई लक्ष्य राखी गरिएको यो अभियानले स्थानीय तथा बाह्य यात्रुहरूमा क्षेत्रप्रतिको आकर्षण अझ बढाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमलाई आर्थिक सहयोग उपलब्ध गराउने चौतारा साँगाचोकगढी नगरपालिका, प्रतिवद्धता जनाउने जुगल गाउँपालिका, साथै यात्रामा साथ तथा मार्गदर्शन प्रदान गर्ने स्थानीय समुदाय, पोर्टर, होटल व्यवसायी, पर्यटन सहयोगी तथा वडावासीहरूलाई मञ्चले विशेष धन्यवाद जनाएको छ।
यसैसँगै, नेपालका लोकप्रिय पर्यटन भ्लगर Nepal 8th Wonder को टोलीसँग सहकार्य गर्दै जुगल क्षेत्रका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक विशेषताहरूलाई श्रव्य–दृश्य सामग्रीमार्फत व्यापक प्रमोशन गर्ने प्रयास पनि गरिएको मञ्चले जानकारी दिएको छ। उक्त भ्लग सामग्रीले जुगल क्षेत्रको सौन्दर्य र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा राखिएको छ।

जुगल क्षेत्र केवल प्राकृतिक सौन्दर्यका कारण मात्र होइन, सांस्कृतिक–आध्यात्मिक महत्त्व, स्थानीय जीवनशैली, सामुदायिक एकता र पर्यावरणीय मूल्यका कारण पनि महत्वपूर्ण रहेको मञ्चले बताएको छ।
आगामी दिनमा पनि पर्यटन विकास, वातावरण संरक्षण, स्थानीय साझेदारी तथा दिगो पर्यटनलाई प्राथमिकता दिँदै अझ थप योजनाबद्ध कार्यक्रम अघि बढाइने प्रतिवद्धता मञ्चले व्यक्त गरेको छ।
कार्तिक २९/२०८२








