२५ असोज, काठमाडौं — अभिनेता राजेश हमालको बहुप्रतिक्षित पुस्तक ‘युगदेखि युगसम्म’ शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। राजधानीको कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा अभिनेता हमाल स्वयं उपस्थित रहेर पुस्तक विमोचन गरिएको हो।
पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा आधारित यो पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र क्षेत्रमा बिताएको लामो अनुभव, बाल्यकालका सम्झना, सामाजिक र व्यक्तिगत विचारहरू समेटिएका छन्।
“यो पुस्तक केवल आत्मकथा होइन,” हमालले कार्यक्रममा भने, “यसमा मेरो जीवनसँग जोडिएका विभिन्न पक्षहरू छन् — चलचित्र क्षेत्रका आरोह–अवरोह, समाजप्रतिको दृष्टिकोण, केही राजनीतिक विषयवस्तु र धर्मबारेका अनुभूति पनि समेटिएका छन्।”
उनका अनुसार पुस्तक तयार गर्न करिब तीन वर्षको समय लागेको हो। ‘युगदेखि युगसम्म’ पुस्तक फाइन प्रिन्ट प्रकाशनले बजारमा ल्याएको हो।
कार्यक्रममा लेखक यज्ञशले पुस्तक तयार पार्ने क्रममा अभिनेता हमालसँग भएका संवादहरू रोचक र गहिरा रहेको बताए।
“राजेश हमालको जीवन एक प्रेरणादायी यात्रा हो,” उनले भने, “पाठकहरूलाई यो पुस्तकले नयाँ दृष्टिकोण दिनेछ।”
सिनेमामा ‘महानायक’को उपाधि पाएका हमालको यो पहिलो औपचारिक पुस्तक हो, जसले उनको पर्दामा देखिने अनुहारभन्दा बाहिरको जीवन पनि पाठकसमक्ष ल्याउनेछ।








