दसैँमा ठप्प जस्तै बक्स अफिस, तिहारमा तीन फिल्मले दिने आशाको घुंघरु

काठमाडौँ, असोज २५ – नेपाली चलचित्र उद्योगले यो दसैँमा अपेक्षित व्यापार गर्न सकेन। दसैँको अवसर पारेर प्रदर्शनमा आएका तीन चलचित्र – ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ – ले बक्स अफिसमा उपस्थित त देखाए तर दर्शक संख्या न्यून रह्यो।

फिल्म वितरक र निर्माताहरूले साताभरमा करिब १५ देखि २० करोड रुपैयाँको व्यापार हुने अनुमान गरेका थिए। तर, १० दिनको अवधिमा जम्मा १० करोड रुपैयाँ हाराहारीको व्यापार मात्र भएको छ।

दसैँअघिको ‘जेनजी आन्दोलन’ र पर्वको बिचमै परेको प्राकृतिक प्रकोप (बाढीपहिरो) लाई यसको प्रमुख कारण मानिएको छ। आन्दोलनका कारण दर्शकको मनोविज्ञानमा असर परेको र बाढीपहिरोले देशका विभिन्न स्थानमा जनजीवन प्रभावित बनेको कारण सिनेमाहलसम्मको पहुँच घटेको विश्लेषण गरिएको छ।

यद्यपि दसैँको अनुभवले फिल्मकर्मीहरूलाई निराश बनाएको छैन। अबको आशा भनेको तिहार पर्वमा प्रदर्शनमा आउन लागेका नयाँ तीन नेपाली चलचित्रमा केन्द्रित छ।

तिहारको समयमा ‘सोल्टिनी’, ‘वरिष्ठ बलराम’ र ‘मैझारो’ नामका तीन नयाँ चलचित्र प्रदर्शनमा आउने तयारीमा छन्। तीमध्ये ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ भाइटीकाको दिन (कात्तिक ६) मा एकसाथ प्रदर्शनमा आउँदैछन् भने ‘मैझारो’ भोलिपल्ट (कात्तिक ७) देखि देशभरका हलमा लाग्नेछ।

यी तीन चलचित्र विषयवस्तु, शैली र कलाकारका हिसाबले फरक-फरक छन्। दर्शकले फरक स्वाद पाउने विश्वास गरिएको छ। तिहारमा पारिवारिक जमघट, रमाइलो र हलसम्मको चहलपहल बढ्ने भएकाले बक्स अफिसमा सुधार आउने आशा निर्माण भएको हो।

चलचित्र व्यवसायीहरू भन्छन्, “दसैँ निराशाजनक रह्यो, तर तिहार हामीलाई फेरि उठ्न मौका दिनेछ। तीनवटै चलचित्रमा राम्रो लगानी र मिहिनेत गरिएको छ, दर्शकले पनि रुचाउनेमा आशावादी छौँ।”

अब हेर्न बाँकी छ – तिहारले नेपाली फिल्म उद्योगलाई कति उचाइमा पुर्‍याउँछ।