भद्रकाली मन्दिर पुनःनिर्माण: झिँगटी छाना, सालको काठ र परम्परागत बुट्टाको प्रयोग

काठमाडौँ, असोज २४ –
काठमाडौँ महानगरपालिकाको सम्पदा विभागद्वारा सञ्चालित भद्रकाली मन्दिर पुनःनिर्माण योजना तीव्र गतिमा अघि बढिरहेको छ। परम्परागत नेवारी शिल्प र शैलीमा निर्माण भइरहेको यस संरचनाको ५० प्रतिशत भौतिक प्रगति भइसकेको छ। निर्माण कार्य हाल बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म दोहोरो सिफ्टमा सञ्चालन भइरहेको छ, र यो चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।

२०७२ सालको विनाशकारी भूकम्पले जीर्ण बनाएका मन्दिर क्षेत्रका संरचनाहरूलाई परम्परागत सौन्दर्य र वास्तुकलाको पुनरुत्थान गर्दै पुनःनिर्माण गरिँदैछ। योजनाको कुल लागत ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ रहेको छ। निर्माण कार्य २०८१ असार २७ गतेबाट औपचारिक रूपमा सुरु भएको हो।

परम्परागत शैली र सामग्रीमा जोड

मन्दिरको सम्पूर्ण निर्माण कार्य परम्परागत नेवारी शैलीमा भइरहेको छ। निर्माणमा आधुनिक सिमेन्ट वा रडको प्रयोग नगरिएको जनाइएको छ। त्यसको सट्टा चुना–सुर्की प्रयोग गरिएको छ। भवनमा नेपाली सालको काठ र झिँगटी छानाको प्रयोग गरिएको छ भने, कुँदिएका ढोका, झ्याल, थाम र बुट्टेदार काठका संरचनाहरू परम्परागत ढाँचामा निर्माण गरिएको छ। प्रयोग योग्य पुराना सामग्रीहरूलाई पुनःप्रयोग गरिएको छ।

काठ र इँटाको गुणस्तर परीक्षण पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्रयोगशालामा गरिएको छ। मन्दिरको मूल बुट्टाहरूको अभिलेखीकरण गरी त्यसैको आधारमा नयाँ बुट्टा कुँदिएका छन्। साथै परम्परागत चरी बस्ने स्थान ‘चखुं प्वाः’ पनि संरचनामा समावेश गरिएको छ।

विस्तार र संरचनाको अवस्था

भद्रकाली मन्दिर क्षेत्रका उत्तर र दक्षिण ब्लकमा काम भइरहेको छ। उत्तरतर्फ भृकुटीमण्डपतिरका दुई ब्लक र दक्षिणतर्फ नेपाली सेनाको पेट्रोल पम्पतिरका तीन ब्लकहरू आपसमा जोडिएका छन्। दक्षिण ब्लकका भवनहरू छानासम्म पुगिसकेका छन् भने उत्तरतर्फको "बी ब्लक" दोस्रो तल्लासम्म पुगेको छ। सम्पूर्ण संरचना अधिकतम दुई तल्लाको हुने र बुईँगलसमेत रहनेछ।

घोडे जात्रासँग समन्वय

घोडे जात्रालाई ध्यानमा राख्दै मन्दिर परिसरमा “याक: फल्चा” निर्माण भइरहेको छ। साथै वरिपरिका पाटी, सत्तल र सुरक्षा पर्खालको पुनःनिर्माणसमेत भइरहेको छ। सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि मन्दिर क्षेत्र करिब ३९ हजार वर्गफिट क्षेत्रफलमा फैलिनेछ।

सम्पदाको संरक्षण र अभिलेखीकरण

पुनःनिर्माण अघि मन्दिरका पुराना संरचना, शिल्प र शैलीको अभिलेखीकरण गरिएको थियो। भत्काइएका संरचनाबाट निकालिएका सामग्रीहरू पुरातत्व विभाग, गुठी संस्थान र लुमधि भद्रकाली व्यवस्थापन समितिसहितको सहजीकरण समितिको समन्वयमा व्यवस्थापन गरिएको छ।

काठमाडौँ महानगरपालिकाको भौगोलिक केन्द्रमा रहेको यो मन्दिर पुनःनिर्माण परियोजना सम्पन्न भएपछि काठमाडौं सहरको सांस्कृतिक पहिचान अझ प्रगाढ हुने विश्वास गरिएको छ। धार्मिक तथा सामाजिक क्रियाकलापका लागि यो क्षेत्र भविष्यमा एक प्रमुख आकर्षणको केन्द्र बन्नेछ।