तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । तामाङ मात्रै नभएर नेपालका अधिकांश हिमाली, पहाडी आदिवासी जनजातिहरु र संसारको मंगोल मुलुकहरु चीन, ताइवान, हङकङ, मकाउ, सिंगापुर, मंगोलिया, मलेसिया, तिब्बत, लद्दाख, थाइलैण्ड, लाओस, भियतनाम, बर्मा र जापान लगायतको देशमा बसोबास गर्ने मानिसहरुको जीवनमा ल्हो परम्पराको अन्योन्याति सम्बन्ध छ । यो पर्वले तामाङ जीवनलाई भिन्न र जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । तर हामीले यसको महत्वको बारेमा राम्रोसँग बुझ्न नसक्दा ल्होछार भनेको सालमा एकपटक नाच्ने, गाउने पर्वको रुपमा मात्रै लिइरहेका छौ । ल्होछार साँस्कृतिक उत्सवको पर्व मात्रै होइन । नयाँ साल, सम्वत् फिरेको दिन नयाँ बर्ष पनि हो । यो परम्परा तामाङ लगायत मंगोल समाजले विकास गरेको साँस्कृतिक, सामाजिक सभ्यता हो । यो चन्द्रमाको गति र प्रभावको आधारमा हेर्ने वैज्ञानिक विश्व दृष्टिकोण हो । यो अन्धविश्वासको आधारमा भविष्यवाणी गर्ने नभई प्राकृतिक तत्वहरुको संयोग, वियोग, अन्तरक्रिया र अन्तरसम्बन्धका आधारमा सूचना दिने नियम संगत ज्ञान हो ।
हजारौं बर्ष पहिले नै यो परम्पराको विकास भयो र तामाङ समाज त्यही परम्पराबाट परिचालित हुँदै आएको छ । हाम्रो जीवन र संस्कृतिको प्रत्येक घडी, पला र प्रत्येक दिन त्यही परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ ।
ल्हो परम्परा अनुसार प्रत्येक बर्ष एउटा एउटा जनावर (बर्ग) ले शासन गर्दछ । महामानव मञ्जुश्री जो तामाङको ज्ञानको देवता पनि हो, उहाँले पञ्चशीर्ष डाँडामा बसेर मुसा बर्षमा ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट यो परम्पराको सुरुवात भएको हो । यससँग सम्बन्धित अरु पनि किम्वदन्तीहरु हामी सामू छन् । तर ती सबैलाई यहाँ राख्न सम्भव छैन । सोही विश्वास अनुसार अब आउने २८६१ अर्थात वि. सं. २०८१ माघ १७ गते (माघ शुक्ल प्रतिपदा) देखि डुक (ड्राइगन) बर्षको समाप्त भई डुल (सर्प बर्ष) को शासन सुरु हुँदैछ । जसरी प्रत्येक बर्ष एउटा एउटा जनावरले शासन गर्दछ त्यसैगरी प्रत्येक महिनामा पनि एउटा एउटा जनावरले शासन गर्दछ । पहिलो महिना ख्रेलालाई माघ महिना मानिन्छ । त्यसैगरी प्रत्येक दिनको २४ घण्टामा पनि २/२ घण्टाको दरले पालैपालो एउटा एउटा जनावरले शासन गर्छ भन्ने मान्यता छ । भारतीय ज्योतिष परम्परा सौर्य पात्रो अनुसार रातको १२ बजेपछि अर्को दिनको सुरुवात हुन्छ भने चन्द्र परम्परामा रातको ११ बजेदेखि अर्को दिनको सुरुवात हुन्छ । जसअनुसार रातको ११ बजेदेखि १ बजेसम्म मुसा, १ बजेदेखि ३ बजेसम्म गाई, ३ बजेदेखि ५ बजेसम्म बाघ, ५ बजेदेखि ७ बजेसम्म खरायो, ७ बजेदेखि ९ बजेसम्म गरुड, ९ बजेदेखि ११ बजेसम्म सर्प, ११ बजेदेखि १ बजेसम्म घोडा, १ बजेदेखि ३ बजेसम्म भेडा, ३ बजेदेखि ५ बजेसम्म बाँदर, ५ बजेदेखि ७ बजेसम्म चरा, ७ बजेदेखि ९ बजेसम्म कुकुर र ९ बजेदेखि ११ बजेसम्म सुंगुरले क्रमशः शासन गर्दछ । जुन जुन जनावरको जुन जुन बर्ष, महिना, बार र समय शासनअवधि हो, त्यो समयमा त्यही जनावर सक्रिय रहने र त्यसको प्रभाव पर्ने तामाङ समाजको जनविश्वास छ ।
तामाङ जीवनको महत्वपूर्ण कार्यहरु छेवर, पास्नी, बिबाह, मृत्यु मात्रै नभएर परदेश जाने, घर बनाउने, पुजाआजा गर्ने सबैखालको शुभ, अशुभ साईतमा ल्हो, खाम हेर्ने गरिन्छ । ल्हो र खामको आधारमा उसको चरित्र र भविष्यको आँकलन गर्ने हुँदा बिबाह, नयाँ कामको थालनी आदिमा यो परम्परालाई आधार बनाईन्छ । केटा र केटीको ल्हो, खाम नमिलेमा बुढापाकाबाट बिबाहको लागि स्वीकृति दिइदैन । जस्तोः मुसा र घोडा, गोरु र भेडा, बाघ र बाँदर, खरायो र चरा, गरुड र कुकुर, सर्प र बँदेल जोडा नमिल्ने ल्हो चिन्ह भएकोले बिबाह गर्नु हुँदैन भनिन्छ ।
त्यसकारण यो परम्पराको धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक, स्वास्थ्य जीवनको क्षेत्रमा मात्र नभएर आजभोली राजनीतिक सन्दर्भमा समेत महत्व रहेको छ । ल्हो फिर्ने अवसरमा तामाङहरु ग्रहदशा फ्याँक्ने, कूलको पूजा गर्ने, घरमा लुङ्दर/दज्र्यु फहराउने र विश्व शान्तिको लागि लामाद्वारा मन्त्रोच्चारण गरिन्छ । यस बर्ष ल्हो फिर्ने दिन माघ ११ गते नागहरु एकठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने हुँदा अशुभ वा कालो दिन मानिएको छ । त्यसैले लामा, ज्योतिष गुरुहरुले उक्त दिन घरमा लुङ्दर, दज्र्यू नहाल्न आग्रह गरेका छन् । नागहरु बसाइँ सरेको बेला बाटोमा झिलिमिली देखेमा राम्रो नमान्ने र त्यस घरमा दुःख, बाधा हुने उहाँहरुको तर्क छ । यसकारण अघिल्लो दिन माघ १६11 गते नै घरमा लुङ्दर, दज्र्यु, पूजापाठ गर्दा राम्रो हुने देखिन्छ । यसरी यो पर्वले धार्मिक महत्व राख्दछ । यो पर्वमा आफू बस्ने घर रंग्याउने, बाटोघाटो सफा गर्ने, इष्टमित्र आफन्त, चेलीमाईती, दाजुभाई भेटघाट गर्ने, परदेश गएकाहरु घर फर्किने, यदि घर फर्किनु नसकेमा विदेशकै भूमिमा भएपनि तामाङ संस्कृतिमा रमाईलो गर्ने, घरपरिवार सम्झने, मान्यजनबाट टीका लगाउने, आशिर्वाद लिने दिने, विशेषगरी तामाङ परम्परागत खानपीन खाने, नयाँ तामाङ भेषभूषा लगाउने र सामूहिक भोजन जस्ता कार्यक्रम गरिने हुँदा यसले सामाजिक महत्व राख्दछ ।
तामाङ समुदाय कृषि पेशामा आश्रित भएको हुँदा यसले कुन समयमा कुन खेतिपाती लगाउने र कुनबेला कुन बाली सप्रिने, बिग्रने लगायत बर्षात, खडेरी आदि कुराको जानकारी दिन्छइ । कुन ल्हो, खामको मानिसले कुन पेशा, ब्यासाय गरेमा राम्रो हुन्छ भन्ने कुराको जानकारी दिन्छ । यसको साथै नयाँ ल्हो फिरेसँगै तामाङहरु पुरानो तान काट्ने, आर्थिक बर्षको अन्त भए जस्तै गरी पुरानो ऋण तिर्छन् भने नयाँ कारोबारको समेत सुरुवात गर्छन् । यो बर्ष सिङ खाम डुल ल्हो (सर्प वर्ष) परेको हुँदा लगानी गरेर असल कर्म गर्ने ब्यक्तिहरु लाई एकदमै राम्रो हुने र अरु लाई धोका दिने हरु लाई नराम्रो हुने तामाङ भाषा विज्ञ मोहन योन्जन तामाङ बताउनु हुन्छ । यसरी यो पर्वले तामाङ जीवनमा आर्थिक महत्व राख्दछ ।
त्यस्तै ल्होको पाँच प्रकृतिका खामहरु एक अर्कोसँग अन्तरसम्बन्धित छ । जस्तोः आगोले मुटुसँग, पानीले मृर्गौलासँग, माटोले आन्द्रासँग, फलामले फोक्सोसँग र काठले कलेजोसँग सम्बन्ध राख्दछ । परम्परागत औषधि विधि अपनाउनेहरुले खाम सम्बन्धलाई ध्यानमा राखेर उपचार गर्छन् । यसरी पञ्च तत्वहरु पाँच ज्ञानेन्द्रीयसँग सम्बन्धित हुनाले यो परम्परा स्वास्थ्य जीवनको दृष्टिकोणले समेत अत्यन्तै महत्व राख्दछ । तामाङ बच्चामा धातु तत्वको कमी देखिएमा फलाम, सुनको जन्तर, चुरा, कल्ली लगाउने अर्थात जुन तत्वको कमी भयो, त्यही तत्वबाट उसको नाम राख्ने जस्तोः फलाम तत्वको बच्चालाई कमी भएमा फलामसिं नाम राख्ने चलन छ ।
यसैगरी यो पर्वले हिन्दू समाजको भन्दा भिन्न पहिचान र अस्तित्व बोकेको समस्त मंगोल सभ्यताको नै उजागर गर्दछ । यसले तामाङ समुदायलाई उत्तरी सभ्यतासँग साँस्कृतिक निकटता/सामिप्यता रहेको देखाउँछ भने ल्होछारको अवसरमा तामाङ झाँकी प्रदर्शन, तामाङ सेलो, म्हेन्दोमाया जस्ता गीत, नृत्य प्रस्तुत गरेर बर्ष दिनभरिको दुःख बिर्सने हुँदा यसले विशेष साँस्कृतिक महत्व राख्दछ । त्यस्तै पर्वको अवसरमा तामाङ घेदुङ जस्तो साझा संस्थाको आयोजनामा साँस्कृतिक सभा, महोत्सव, भेला, अन्तरक्रिया जस्ता कार्यक्रमहरु सञ्चालन गरी ताम्सालिङ पहिचान, प्रतिनिधित्व र आफ्नो गुमेको हक, अधिकारको सवालमा आवाज उठाउँदै तामाङ एकतामा टेवा पुग्ने हुँदा यो परम्पराले तामाङ समुदायमा राजनीतिक महत्व समेत राख्दछ ।
यस्तो महत्व बोकेको पर्वलाई घरघरमा धुमधामका साथ मनाउनु पर्नेमा अझै हामी प्रचारात्मक आन्दोलनमा मात्रै सीमित भइरहेका छौ । २०४६ सालको परिवर्तनपछि जोडतोडका साथ प्रचार गरियो । यसरी निरन्तर प्रचार गरेको नै आज तीन दशक नाघ्न लागि सक्यो । यो समय कम होइन । तर तामाङको घरभित्र ल्होछार अझै पस्न सकेको छैन । घर नजिकको चौक, गुम्बासम्म त घेदुङले जसोतसो ल्होछारलाई पुर्यायो तर घरभित्र पसाउने काम भनेको समुदायको आफ्नै कर्तब्य थियो । तर त्यो कर्तब्य पुरा नहुँदा ल्होछार घरबाहिर हिन्दूको पर्व दशैं चैँ घरभित्र पसिरहेको अवस्था छ । आधुनिक नेपालको निर्माणसँगै यहाँको रैथाने सभ्यता र फिरन्ते सभ्यताबीचको भिषण टकरावमा हिन्दू राज्यको रक्षाकवजमा विकसित बलियो फिरन्ते सभ्यताको सामू हाम्रो रैथाने सभ्यता हारेको कारण आज हामीमा ल्होछार कि दशैं भन्ने भ्रममा परिरहेका छौ । यस्तो भ्रमबाट २१ औं शताब्दीको तामाङहरु मुक्त हुनुपर्छ । अब अर्काले चलाएको चलन पछ्याउने होइन, चलनको इतिहास खोज्न सिकौ ।








