स्थानीय तह उपनिर्वाचन गौरीशंकरमा सोमबारदेखि मतगणना शुरु हुने

२०८१ मंसिर १७
✍️ जुगल न्युज
जुगल सिन्धुपाल्चोक । दोलखाको गौरीशङ्कर गाउँपालिकामा उपाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ । मतगणना सम्बन्धी छलफलका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहान ७ बजे सर्वदलीय बैठक बोलाएको छ । आइतबार भएको निर्वाचनमा ७५८९ मत खसेको छ । कुल १५,७१८ मतदाता रहेको गौरीशङ्करमा झरेको मतको प्रतिशत ४८.२८ रहेको छ ।

तत्कालिन उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि सो पदका लागि हाल उनै तामाङकी पत्नी पासदिकी तामाङ (नेपाली कांग्रेस), निमलेकी शेर्पा (नेकपा माओवादी केन्द्र), उमा मगर शेर्पा (नेकपा एमाले) रबिना खड्का (नेकपा एकीकृत समाजवादी) लगायत ७ राजनीतिक दल र ९ स्वतन्त्र गरी १६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचन आयोगले देशभर रिक्त विभिन्न ४१ पदका लागि आइतबार उपनिर्वाचन गराएको हो । नगरप्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका लागि ३७६ उम्मेद्वार मैदानमा रहेका छन् । यो समाचार तयार पार्दा देशभरमा नेपाली कांग्रेसले १२ स्थानमा विजय हासिल गरिसकेको छ भने नेकपा एमालेले ५ र नेकपा माओवादी केन्द्रले ४ स्थानमा जीत निकालेको छ । त्यस्तै जनता समाजवादी पार्टीका २, एकीकृत समाजवादीका १ र १ स्वतन्त्र उम्मेद्वारले जित हासिल गरेका छन् ।