धाई आमा को रुपमा दरबार ल्याएइकी विवाहित तामाङ चेली लाई पतिबाट खोसेर जंगबहादुरले ४२ औ रानी बनाएका थिए।

✍️ राजकुमार दिक्पाल इतिहासकार

जंगबहादुरको बेइलायत यात्रा (कमल दीक्षितद्वारा सम्पादित, २०१४ः५७)मा कटककी राजकन्या सँगको उनको विवाहबारे यस्तो उल्लेख छ, “ताहादेषी १२ दीनमा कलकत्ता पुग्नुभयो। ताहाबाट लाठ साहेबसीत भेट-मुलाकात गरि ताहा १० दीन मुकाम् गरि चाहीन्या चीज-वस्तु अर्बी घोडा दसवार षरिद गरि मीञानाका डाकमा बनारस सहरतर्फ श्री मीनीष्टर साहेब सवारी भयो। बनारस सहरमा कुटुक महाराजकी मैञा बीबाह गरि श्री प्राइम् मीनीष्टर साहेबको सबारी नेपालतर्फ भयो।”

प्राचीन नेपाल, संख्या २७ (वैशाख २०३१ः४)मा पनि जंगबहादुरले बेलायत भ्रमण सकेर फर्कंदा बनारसमा वैवाहिक सम्बन्ध स्थापित गरेकी रानीको नाम गंगा छ। त्यहाँ लेखिएको छ, ‘बनारसको कुतक महाराजकी मैयां गंगारमारानीलाई विवाह गरी साथमा प्राइम्मिनिष्टर जंगबहादुर कुवर राणा नेपालतर्फ लागे।’

Iपद्मजंगको टिपोट अनुसार त भारतमा सैनिक विद्रोह हुनुभन्दा दुई वर्षअघि नै कटककी ती राजकन्याको निधन भइसकेको देखिन्छ। भारतको सैनिक विद्रोह दमन विसं १९१४ मा भएको थियो भने गंगा महारानीको निधन विसं १९१२ मा भएको थियो।

यस्तोमा जबरा (२०६५ः१९३)ले नै उल्लेख गरेकी, जंगबहादुरकी १७औं रानी ‘गोरखपुरे महारानी’ चाहिं भारतको सैनिक विद्रोह दमनपछि नेपाल ल्याइएकी हुन सक्छिन्। किनकि विसं १९१४ पुसमा सैनिक विद्रोह दमन गर्न जंगबहादुर विद्रोहीको कब्जामा रहेको गोरखपुरमा सक्रिय थिए (पद्मजंग राणा, जंगबहादुरको जीवनयात्रा, २०७४ः१९४-९५)। उनले त्यही क्रममा त्यहाँबाट पनि एक जनालाई विवाह गरी ल्याएका थिए।

‘धाई नानी भोटिनी’
राज्यबाट शोषण र उपेक्षामा परेको जाति हो तामाङ। यो समुदायलाई राज्यले लामो समय भरिया बनाइराख्यो। मुलुकी ऐन १९१० ले यिनलाई ‘मासिन्या मतवाली’ जातिमा राखेको थियो। तर पनि तामाङ महिलाहरू दरबारमा धाई तथा सुसारेका रूपमा राखिन्थे। यसै ईगरी दरबार पसेकी खोटाङ, नारंगाकी दिलकुमारी ब्लोनलाई आफू श्री ३ महाराज भएपछि भीमशमशेरले रानी बनाए। उनी सीता बडामहारानी कहलाइन्। उनी बडामहारानी घोषित भएपछि हिजो ‘मुर्मी भोट्या’ भनी सम्बोधन गरिने जातिलाई भीमशमशेरले एक इस्तिहार जारी गरी तामाङ लेख्न सहज तुल्याइदिएको इतिहास धेरै पटक पढिसकिएको छ।
तामाङ चेली विवाह गर्ने राणा प्रधानमन्त्रीमा भीमशमशेर पहिलो होइनन्। उनी अघि जंगबहादुरको दरबारमै एक तामाङ चेलीले रानी साहेबको दर्जा पाएकी थिइन्। तर यो ऐतिहासिक प्रसंग त्यति चर्चामा छैन।

जबरा (२०६५ः१९७)ले यी तामाङ केटी जंगबहादुरकी ४२औं रानी रहेको र यिनलाई ‘धाई नानी’ नाम दिइएको उल्लेख गरेका छन्। उनका अनुसार यिनी जंगबहादुरकी विवाहिता नभई ल्याइते हुन्। जबरा लेख्छन्, ‘यिनी भोटिनी हुन्। यिनी कुनै मैया साहेवकी धाई हुन्। यिनका बाबु आमाको नाम थाहा भएन र सन्तान भए/नभएको साथै जन्म मरणको बारेमा पनि जानकारी भएको छैन।

धाई भनेको शिशुलाई दूध खुवाउने, स्याहार-सुसार गर्ने महिला हुन्। राणाका दरबारमा उनीहरूका रानीबाट जन्मेका शिशुका लागि धाई इकआमाहरू राखिएका हुन्थे। ‘धाई नानी भोटिनी’ भनिएकी ती तामाङ चेली पनि जंगबहादुरकी कुनै रानीबाट जन्मिएकी सन्तानलाई स्याहार्न दरबार पसेकी थिइन्।

जंगबहादुरका छोरा पद्मजंगले पनि आफ्नी आमा तथा सौतेनी आमाहरूको सूची भएको टिपोटमा एक जना भोटेनी भित्रिनी भएको उल्लेख गरेका छन्। टिपोटमा उनी वामा मैयाकी धाई भएको उल्लेख छ (कमल दीक्षित, २०४०ः१४३)। भोटुद्वारेले टिपाएको सूचीमा वामा मैया जंगबहादुरका श्रीमतीमध्ये एक मीना महारानीतिरकी छोरी भएको उल्लेख छ (दीक्षित, २०४०ः१४५)।
यसबाट ती तामाङ चेली मैया वामालाई स्याहार्न दरबार प्रवेश गरेको स्पष्ट हुन्छ जो विवाहिता थिइन्। जंगबहादुरले उनलाई पतिबाट खोसेर रानी बनाएका थिए।