०७ वैशाख २०८०
जुगल सिन्धुपाल्चोक ।काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको प्रचारप्रसार गर्ने र पर्यटन प्रबर्द्धन गरि जुगल गाउँ पालिका लाई पर्यटन केन्द्र को रुपमा विकास गर्ने उदेश्यका साथ बिहीबार जुगल गाउँ पालिका र नेपाल पर्वतारोहण संघ बीच १० बुदे सम्झौता पत्र मा हस्ताक्षर गरिएको छ।
राजधानी नजिक भएर पनि प्रचारप्रसार हुन नसकेको जुगल हिमाल एउटै आधार शिविरबाट आठ वटा हिमाल आरोहण गर्न सकिने भएकाले पर्यटकको विशेष आर्कषणमा पर्ने विश्वास लिइएको छ ।हिमाल लाई मूल प्रवाहमा ल्याउने र धेरै धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धिको दिशामा लागिपरेको जुगल गाउँ पालिका अध्यक्ष रेशम स्याङ्बो ले बताए।
जुगल हिमशृङ्खला लगायत धार्मिक,सांस्कृतिक, प्राकृतिक र अन्य पर्यटकीय क्षेत्र रहेको जुगल गाउँ पालिका सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पर्यटन क्षेत्रको विकासका लागि प्रवल सम्भावना रहेको पालिका हो ।नेपालकै विभिन्न पासमध्ये तिलमान पास, धार्मिक र प्राकृतिक महत्व रहेको भैरवकुण्ड क्षेत्र, धार्मिक महत्व रहेको नेपेमासाल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हुन् । जलस्रोतको धनी रहेको यो गाँउपालिकामा साना तथा ठूला गरी ९ वटा जलविद्युत् आयोजनाहरु निर्माणाधीन चरणमा छन एउटा जलविद्युत आयोजना सप्पन्न भइ सकेको छ ।
हिमशृङ्खलामा कूल छ हजार मिटर माथिका ११ वटा हिमालहरु छन् । भैरव टाकुरा छ हजार सात सय ८८ मिटर, दोर्जेलाक्पा छ हजार आठ सय ६६, गङछेम्बु छ हजार तीन सय ७८, गुरकर्पो ह्री छ हजार आठ सय ८८ मिटर, ग्याल्चेन पिक छ हजार एक सय ५१ मिटर, लाङशिसा ह्री छ हजार चार सय १२ मिटर उचाईका हिमाल छन् । सन् १९४६ मा बेलायती आरोही बिल तिलमानले नेपालको विभिन्न हिमालको अध्ययन तथा आरोहण गर्ने क्रममा यस हिमशृृङ्खलाका पिक र हिमाल को आधार क्षेत्र र पाँच पोखरी हुँदै नेपालकै सबैभन्दा लामो पास तिलमान पास यात्रा गरेको इतिहास छ । अत्यन्तै साहसिक र चुनौतीपूर्ण पास भएकाले त्यस स्थानलाई आफ्नै नाम दिएर ‘तिलमान पास’ नामाकरण गरिएको हो । सो बारेमा नेपाल हिमालय नामक पुस्तक पनि प्रकाशन भएको छ ।