२०७८ असोज १२
जुगल सिन्धुपाल्चोक ।‘कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमा, कत्ति राम्री देखिन्छौ बरिलै जमरा र रातो टिकैमा’ नेपाली चलचित्र मुगलानको यो गीत रेडियोमा घन्किन थालेपछि गाउँघरमा दशैको उमंग शुरु हुन्छ । गीतले मात्रै भन्ने होइन, बारीमा पाक्ने बाली सुकिलो हुँदै गरेको बाटो होस् या बारी ऋतु अनुसारको फेरिएको मौसमले दशैं आएको थाहा पाउन कसैलाई क्यालेन्डर चाहिँदैन । गाउँ गाउँमा छाउने उमंगले दशैं आएको थाहा हुन्छ ।
त्यसमा पनि बाटोमा हुने बाक्लो ओहोर दोहोर, मेला बजारदेखि पसलहरुको भीड या साप्ताहिक रुपमा लाग्ने हटियाको भीडले पनि थाहा हुन्छ दशैं आयो । खुलेको आकाश, चाडबाडको मौसम र दशैंमा गुञ्जिने मालश्री धुनले दशैंको उमंग थप्छ । बैशाख–जेठदेखिको मनसुनी वर्षा असोज लागेसँग अन्त्य हुन्छ र खुलेको प्रकृतिले दशैंको संकेत गर्छ ।
नवरात्री शुरु हुँदा नहुँदै ठडिने लिङ्गे पिङ, टोल टोलमा हुने फुटवल, भलिवल, व्याडमिन्टन प्रतियोगिता र यस्तै बाक्लोगरि आयोजना हुने साँस्कृतिक कार्यक्रमले दशैंको खुशी बोकेको हुन्छ । दशैं बालबालिका र युवाहरुको अझै विषेश हुन्छ । घरबाहिर निस्किएर पेसा व्यवसाय गर्ने, अध्ययनका लागि शहर पुगेकाहरु दशैंमा बालसखासँग रमाईलो गर्ने योजना दशैंका लागि सोच्छन् ।
सरकारी या निजी नोकरीमा हुनेहरु दशैंको बिदा भइसक्दा घर पुग्ने हतारोमा हुन्छन्, दशैंमा आवश्यक सामान जोरजाम गर्न व्यस्त हुन्छन् । दशैंमा गाउँ घर, मठमन्दिरको सफाइदेखि प्रत्येक जसोले लिपपोत गरेर आफ्ना घर चिटिक्क पार्छन् । गाउँघरका बाटोहरु दशैं शुरु भएपछि मर्मत हुन थाल्छन् । बाक्लो आउजाउ, ठाउँ–ठाउँका पिङ र रोटेपिङ र विभिन्न खेलकुदका प्रतियोगिताले दशैंको मूखमा गाउँघर तथा शहर–बजारलाई तताएको हुन्छ ।
दशैंका लागि अन्नपात र माछा मासूका लागि खसी–कुखुराको जोहो गर्ने चलन छ । दशैंमा परिवारका चाहना र आवश्यकता पुरा गर्न अभिभावक लागेका हुन्छन् । नयाँ लुगा, पत्नीलाई गरगहना, केटाकेटीलाई खेलौनादेखि भान्सा र घरमा आवश्यक सामान जोड्ने समय पनि दशैं नै हो । बालापनमा त झन् दशैंको बेग्लै मज्जा हुन्छ । दशैंको नयाँ नाना, खेलौना अनि घरमा आएका पाउनालाई देखाउन दशैं शुरु देखिकै योजना सम्झिदा छुट्टै अनुभूति हुन्छ ।
नानीहरू रमाउँदा ठूूलाको मनपनि फुरुङ्ग हुने । केटाकेटीलाई स्कूल जान नपर्ने, घरघर डुलेर टीका लगाइने, मनपर्ने मिठो खान पाइने, त्यसमाथि मामाघरको यात्रा, बसाइ, खानपान, दक्षिणा र साथीसँग मेरो पैसा यति भयो भनेर सुनाउन स्कूल लागेको पहिलो दिनको हतारोले पनि दशैं केटाकेटीको विशेष पर्व बन्दछ । ठूलाका लागि पनि दशैं आफूभन्दा ठूलासँग भेटघाट र आशीर्वाद लिन दशैंनै महत्वपूर्ण रहन्छ ।
किशोरावस्थामा यो समयमा नयाँ लुगा, जुत्ता र मोटरसाईकल किन्ने योजनामा बाबामामूसँग घुर्क्याउने चलन पनि छ । परदेशमा हुनेको घर आउने योजना र घरमा भएका परदेशबाट घर आउने दिन गन्दै लामो समयदेखि परदेशीका खानेकुरा साँचेर राख्छन् । बुढेस कालका बा–आमालाई परदेशबाट सन्तान घर फर्कँदाको हर्षले गद्गद् हुन्छन् । लामो समयसम्म परदेश बसेको छोरा, श्रीमानसँग बसेर दशैं मनाउ नपाउने भएपछि आमा बुबा र श्रीमतीले बेग्लै आनन्द महसुस गर्छन् ।
शहरमा सिमित ठाउँमा रमाएका बालबालिका गाउँ गएर खुला ठाउँमा साथीभाइ र आफन्तसँग खेल्न पाउँदा औधि रमाउँछन् । विदेशमै रहेकाहरु घर आउन नपाए पनि साथीसाथी मिलेर दशैंको रमाईलो गर्ने गर्छन् । तर यसवर्ष भने दशैंको त्यस्तो उमंग छैन । बरु डर त्रास बढी छ । संसारभर फैलिएको कोरोना महामारीकाले थुप्रैलाई संक्रमित बनाइसकेको छ ।
कोरोनाको संक्रमण हुनसक्ने चिन्ताले धेरैजना घरैमा थन्किएका छन् । मानिसहरु दशैंको तयारी भन्दापनि कोरोनाको कहरमा छन् । आर्थिक संकट गहिरिदै गएकाले दशैंको मुखमा छाक टार्ने चिन्ताले सताएको छ । गाउँगाउँमा हुने खेलकुद प्रतियोगिता रोकिएको छ ।
मनोरञ्जनका लिङ्गे पीङ लगाउँने जाँगर छैन । सरकारले दशैमा घुमघाम नगर्न अपिल गरिरहेको छ । त्यसैले यो दशैंमा सधैँको जस्तो उमंग छैन । कोरोनाको कहरले दैशको उमंग फिका बनाइदिएको छ।