जुगल सिन्धुपाल्चोक । भर्खरै नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको बहुराष्ट्रिय राज्यको अभिव्यक्तिमाथि एउटा चेतनाले हमला गर्यो । हुन त मन्त्री महतोसँग मेरो कुनै लेनादेना छैन तर जसले बोलेको भएपनि बहुराष्ट्रिय राज्यबारे नेपाली समाज र आफूलाई विद्वत वर्ग भनेर दाबी गर्नेको जुन मनोदशा छ । त्यसप्रति टिठ लागेर आयो । यो नलेखौ भन्दा पनि चुप लागेर बस्न सकिएन किनकि यो निम्छरो मनोदशाको हमला एकपटक होइन, नेपालको इतिहासमा पटक पटक दोहोरिएको छ । २०४६ सालको परिवर्तनपछि गोरेबहादुर खपाङ्गी मगरले राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना गरेर राष्ट्र निर्माण पश्चात मात्र राज्यको निर्माण भएको भन्दै बहुराष्ट्रिय राज्यको अवधारणा अघि सारे । त्यसबेला पञ्चायती स्कूलबाट उत्पादित प्रजातन्त्रको कलेवरमा हुर्किएको नयाँ अवतारीले यो अवधारणाको विरोध ग¥यो । पहिलो संविधानसभाबाट संविधान निर्माणको बखत पनि बहुराष्ट्रियताको बहसले निकै चर्चा लियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय झण्डा परिवर्तन गर्ने बारेमा ब्यापक छलफल भयो । अन्ततः एकल जातीय अहंकारवाद यसको वाधक बन्यो । तरपनि बहुराष्ट्रियताको अवधारणा अनुसार संविधानले सामाजिक उत्पीडन सहित बहुल विविधतालाई स्वीकार गर्न बाध्य भयो । त्यस्तै २०७७ बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच भएको एकताको सहमति पत्रमा बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि र बहुसांस्कृतिक राष्ट्रवादको विकास गर्ने भनिएको थियो । त्यसबेला केही समूहले निर्वाचन आयोगमा पुगेर दल दर्ता खारेजीको निवेदन नै दिए । त्यसबेला पनि सडकमा नाराबाजी र होहल्ला भयो, अहिले पनि चेत उहीँ तर अलि फरक मान्छेहरूले त्यहीँ श्रृंखला दोहो¥याई रहेका छन् । यो समाज बदल्न नदिने पुरातन चेतको अन्त्य नभएसम्म यस्ता प्रहसन धेरै देखिने वाला छ । जे होस् बहसमा आयो, यो राम्रो कुरा हो ।
वास्तवमा बहुराष्ट्रियता भनेको बहुसांस्कृतिकवादकै राजनीतिक अभिव्यक्ति हो । यो नेपालको संविधानले पनि स्वीकार गरेको विषय हो । नेपालको संविधान २०७२ को धारा ३ मा राष्ट्रको परिभाषा गरिएको छ । जहाँ नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनिएको छ । यसले इतिहासको विभिन्न कालखण्डमा भएको आन्दोलन, सङ्घर्ष र सम्झौताका कारण एउटा देशभित्र समेटिन पुगेका फरक फरक तर समरूप मानव समुदायको अस्तित्व, पहिचान र तिनको मूल्य–मान्यतालाई आत्मसात गर्दछ । संघवादको मान्यता अनुसार बहुराष्ट्रियताले विविधता र भिन्नपनको सम्मान गर्दै सबैमा साझा देशभक्तिको भावना विकास गर्दछ । एउटै राजनैतिक प्रशासनिक भूगोलभित्र एक राष्ट्रको विपरीत एकभन्दा बढी राष्ट्रहरू हुन्छन् भने त्यस्तो राज्यलाई बहुराष्ट्रिय राज्य भनिन्छ । बहुल राष्ट्रिय राज्यको स्थापनाले मात्रै नेपालभित्रको सबैखाले सामाजिक अन्तर्विरोधको हल गर्नसक्छ । त्यसैले स्वीकार गर्ने या नगर्ने भन्ने आफ्नो चेतनामा भर पर्ने कुरा हो तर महतोको जिकिर झैँ नेपाल बहुराष्ट्रिय राज्य नै हो ।
बहुराष्ट्रियताको विपरीत हाम्रो मुलुकमा लामो समय अभ्यासमा रहेको एकल राष्ट्रियताले के गर्छ भने त्यस्ता फरक फरक मानव समुदायको विविधतालाई मूल प्रवाहीकरणको नाममा एउटै धारमा हिँडाउने कोशिस गर्दछ । एलक राष्ट्रिय राज्यको सबै अंगमाथि एउटै राष्ट्र समूहले नियन्त्रण कायम गरेको हुन्छ । सबै मान्छेलाई एउटै भाषा बोल्ने, एउटै संस्कृति मान्ने, एउटै धर्म मान्ने र एकैखालको सोचाई बोक्ने बनाउनु एकल राष्ट्रियता पक्षधरको अन्तर्निहित उद्देश्य हो । जसरी नेपालको सन्दर्भमा २५० वर्षदेखि यहाँको विविध पाटा, पक्षहरूलाई एउटै खस हाँडीमा हालेर घोल्ने र त्यसबाट एउटै रंग निकाल्ने आज पर्यन्त प्रयास गरिदै छ । यस्तो गर्नु भनेको आन्तरिक द्वन्द्वलाई कायम राख्नु हो जुन कुनै पनि दिन विस्फोटन हुन्छ । चीनियाँ राष्ट्पति सी चीन पिङले भनेका थिए– यदि सबै सभ्यतालाई एउटै रंग रूपमा ढाल्ने हो भने यो संसार बस्नका लागि एकदमै निरस हुन्छ । पिङको भनाई जस्तै नेपाललाई त्यस्तै रंग विहीन निरस देश बनाउन खोज्नेहरूले नै अहिले बहुराष्ट्रियता विरुद्ध उछालिरहेका छन् । जंगलमा अरु सबै जनावर सिद्धिएर सिंहहरू मात्रै बस्यो भने कस्तो होला ? कल्पना गर्नुस् । एउटै जनावर मात्र बस्ने र एउटै खालको वोटविरुवा मात्र हुने जंगल हुँदैन । त्यस्तो उजाड र निरस ठाउँलाई जंगलको परिभाषाले समेट्दैन । त्यस्तै नेपालमा पनि एउटा भाषा, एउटा संस्कृति मान्ने मान्छे मात्रै भयो भने त्यो ज्यादै निरश हुनेछ । त्यस्तो एकल समाजले नेपालको बृहत् उचाईलाई बोक्न सक्दैन । संसारले चिनेको देश नेपाल बहुराष्ट्रिय चरित्रको हो । जसलाई यहाँका जातिहरूको विविध सभ्यताको एकताले थेगेको छ ।
त्यसैले नेपाल हुनुको लागि सबै विविधता समान ढंगले फुल्नुपर्छ । मन्दिरमा घण्ट बज्ने, गुम्बामा खोर्लो घुम्ने, मस्जिदमा नमाज पढ्ने र सबैले आआफ्नो धार्मिक गतिविधि बिना अवरोध सञ्चालन गर्दा मात्रै यहाँको बहुधार्मिकता झल्किन्छ । यहाँ नेवारको लाखे, तामाङको सेलो, किरातीको साकेला, बाहुनको ख्याली, क्षेत्रीको बालन, मगरको हुर्रा, दनुवारको रामदल लगायत थुप्रै संस्कृति छन् । सबैको आआफ्नो पूर्खाले विकास गरेको जातीय भाषा (मातृभाषा) हरू छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा १२३ भाषाभाषी र १२५ जाति, जातको बसोबास छ । यही बहुजातीय, बहुधार्मिकता, बहुभाषिकता र बहुसंस्कृतिको समष्टि रूप नेपाल हो । यसलाई एकैपटक भन्नुपर्दा यसको समुच्च अभिव्यक्ति बहुराष्ट्रियता हुन्छ । तर नेसनको परिभाषा राम्रोसँग नबुझ्नेहरूले बहुराष्ट्रियतालाई अस्वीकार गरेकै कारण आज देश बन्न सकेको छैन ।
तामाङ भाषा ठीक छ तर तामाङ राष्ट्रियता ठीक छैन भन्नु अन्धराष्ट्रवाद हो । त्यही तामाङ राष्ट्रले तामाङ भाषा जन्मिएको हो । तामाङ भाषा तामाङ राष्ट्रको एउटा महत्वपूर्ण तत्व हो । भाषा, संस्कृति, धर्म, परम्परा जस्ता सबैखाले तत्वहरूको संयोजनबाट राष्ट्र (नेसन) को निर्माण हुन्छ । उत्तर–दक्षिण, पूर्व–पश्चिम, हिमाल, पहाड, तराई, मधेश सबैतिर विकसित भिन्न भिन्न यिनै सभ्यताहरूले नेपाल देशलाई बोकेको छ । जसले यस्तो इन्द्रेणी समाजको विरोध गर्दछ भने यस्तो बहुलतायुक्त बहुराष्ट्रियतालाई अस्वीकार गर्नेहरू नक्कली राष्ट्रवादको नाममा उभिएका मुलुकको सक्कली विखण्डनकारीहरू हुन् । त्यसले एउटा जातिको राष्ट्रियतामाथि नेपाललाई उभ्याएर कमजोर पार्न लागिरहेको छ । नश्लवादी राज्यको आडमा बहुल राष्ट्रियता टुक्र्याउन खोजिरहेको छ । अहिले नेपाल सार्वभौम, स्वतन्त्र मुलुक भएर पनि पिँध बिनाको लोटा जस्तो कहिले भारत, कहिले अमेरिका त कहिले चीनको राजनीतिक हस्तक्षेप भोग्नुपर्ने कारण आफ्नो वास्तविक बहुराष्ट्रियताको धरातलमाथि उभिन नचाहेको परिणाम हो ।
यो भूगोलभित्र धेरैखाले विविधतालाई आधार बनाएर विकसित विभिन्न सभ्यताबाट फुलेका भाषा, संस्कृति, भूगोल, मनोविज्ञान र आर्थिक व्यवस्थाको आधारमा एकठाउँ बस्न चाहने आत्मिक भावना नै राष्ट्र (Nation) जाति हो भन्ने पाटोलाई राज्यले आत्मसात गर्नुपर्छ । यसले जनजाति–खसआर्य, मधेशी–पहाडे, महिला–पुरुष, मजदुर–मालिक सबै वर्ग, जाति, लिङ्ग, क्षेत्रबीचमा अहिले एकल जातीय भूँसको आगो झैं ब्याप्त द्वन्द्वमा भावनात्मक एकता पैदा गरेर राष्ट्रिय एकतालाई अक्षुण राख्दछ । शक्तिको उन्मादले जनतासँग बदलाभाव राख्यो भने त्यसले द्वन्द्वलाई कायम राख्छ र शक्ति भनेको कसैको निश्चित व्यक्ति वा समूहको मुठ्ठिभित्र चिरकालसम्म रहिरहँदैन । शक्तिको स्रोत जनता हो र जनता नै राष्ट्र हो । यसर्थ नेपाल एउटा मात्रै भाषा, धर्म, संस्कृति भएको जनताको राष्ट्रियताबाट बनेको होइन । नेपाल थुप्रै राष्ट्रहरूको संगम भूमि हो । यो भूगोल भित्र रहेका जातीय (राष्ट्रिय) ऐतिहासिक थलोका सिमानाहहरू राज्यको सिमानाभन्दा ज्यादै पुरानो हुन् । केही टाउको बिनाका मान्छेहरू उफ्रिएर राज्यले मान्यता नदिँदैमा राष्ट्रको अविच्छिन्न इतिहास मेटिएर जाँदैन । नेपालमा मात्रै होइन, छिमेकी भारत लगायत संसारका थुप्रै देशहरू यस्ता बहुराष्ट्रिय चरित्रका छन् । त्यस्ता बहुराष्ट्रहरूले सम्मान पाएको देश नै विकासमा अघि बढेको पाइन्छ ।
त्यसैले के बुझौ भने राज्य भनेको क्षेत्रगत रुपमा शासन सञ्चालन गरिने खास जनसङ्ख्या सहितको व्यवस्था हो भने राष्ट्रले विभिन्न समुदायलाई भावनात्मक रूपमा समेटेको हुन्छ । त्यही राष्ट्रिय भावनामाथि राज्य उभियो भने त्यो बलियो बन्छ । जनताको आत्मिक एकता सहितको राष्ट्रियता नभएको राज्य केवल जनताको एकतामा बाधा पु¥याउने एउटा मेसिन सरह मात्रै हुनेछ । नेपाल देशभित्र विभिन्न जातिहरूको सभ्यताले विकास गरेको लिम्बुवान, किरात, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान जस्ता ऐतिहासिक राष्ट्रहरू आजपनि जीवित छन् । अझ यसभन्दा सानो भूगोलको आकारभित्र समेटिएका थुप्रै राष्ट्रहरू पनि छन् । ती भूगोलको विविधता आज पनि सुरक्षित छ । जो देशको सम्पत्ति हो, जसलाई राज्यले सधैं अनदेखा गरिरह्यो । आफ्नो घरभित्रको सम्पत्ति नदेख्ने दृष्टिविहीन राज्य सधैं अरु सामू मगन्ते बनेर मागिरह्यो । नेपाल नामको बगैंचाभित्र अनेक थरीका रङ्गीविरङ्गी फूलहरू फुलेका छन् । ती प्रत्येक फूलको आफ्नै रङ, सुगन्ध र सौन्दर्यता छ । त्यसको आफ्नैखाले महत्व छ । ती रंगीन फूलहरूमा एकले अर्कोलाई सेप होइन कि सबैलाई समान ढंगले हुर्कने र फुल्ने अवसर दिनुपर्छ । तर जातिवादी राज्यसत्ताले सबै फुलहरूलाई समान ढंगले फुल्न दिएन । सारमा यसले मुलुकको विविधतालाई सम्पत्तिको रूपमा ग्रहण गरेन र सधैँ बाधा र बोझको रूपमा लियो । राज्यको साधन, स्रोत सबैमा वितरण गर्दा मुलुक विखण्डन हुने देख्यो । मुलुकको यो हविगत हुन पुग्यो । त्यसैले उत्पीडित राष्ट्रहरूबाट सञ्चालित समग्र आन्दोलनको अभिव्यक्ति स्वरूप प्रस्तुत बहुराष्ट्रिय राज्यको अवधारणा मुलुकलाई अनन्तकालसम्म जोड्ने अचूक सुत्र हो ।
भूगोललाई मात्र राष्ट्र देख्नु र बुझ्नु हाम्रो गम्भीर कमजोरी हो । नेपाल भनेको मेचीदेखि महाकालीसम्मको भूगोल मात्र होइन, त्यहाँ रहेका विविध जाति, भाषा, क्षेत्र, लिङ्ग र समुदायका जनताको समुच्च रूप हो । राज्य र राष्ट्रको परिभाषा खोज्ने हो भने त्यहाँ भित्र यही तत्व विद्यमान रहेको पाइन्छ । र त्यो एकताबाट मात्र नेपाल र नेपालीको राष्ट्रियताले चिर कालसम्म निरन्तरता पाउनेछ । तर जनता एकठाउँमा नहुँदा राष्ट्रिय एकता कमजोर भएको तर्फ कसैको ध्यान गएन । बहुराष्ट्रियताको विरुद्धमा उफ्रनेको चेतबाट सिर्जित चालु राष्ट्रवादले पञ्चायतकालमा ढाका टोपी नलाउनेलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएन । तामाङ भाषा बोलेको सुन्दा तिब्बती र मैथिली भाषा बोल्दा बिहारीको रूपमा बुझ्थ्यो । सारमा यो राष्ट्रवादको आवरणमा जातिवादको खेती फस्टाइरहेको छ । संसारभरि नै युद्ध र हिङ्साको मुख्य स्रोत अरु राष्ट्रलाई बहिष्करण गर्ने जातिवाद हो । जसलाई शासकहरूले केही समयसम्म राष्ट्रवादको आवरणले छोप्छन् । तर यो डोकोले छोपे जस्तो मात्रै हुन्छ । किनकि जातिवादको अन्तिम गन्तव्य फासिवाद हो । यसप्रति सचेत हौ ।