मोहन गोले तामाङ
तीन दिनदेखिको अविरल झरीपछि काठमाडौं केही खुलेको थियो । म बिहान करिब ९ बजेतिर कार्यालय जाँदै थिएँ । मोबाइलमा नयाँ नम्बरबाट फोन आयो, ‘तपैँ घेदुङ संघको अध्यक्ष हो ?’ मैले हो भनेँ । उताबाट फेरि आवाज आयो, ‘तपैँलाई काँ भेट्छु हामी ।’ मैले नेपाल तामाङ घेदुङको केन्द्रीय कार्यालय चुच्चेपाटीमा आउनू भनेँ ।
उनीहरू कार्यालय आइपुगे । मैलो भइसकेको कपडा, टोपीको बिट केही फाटेको, दुवैजनाको गालामा मुजा पर्न थालेको, एकजना मेरै उमेरको र एकजना मभन्दा आधा दशक उमेरले जेठो जस्तो लाग्यो । अनुहारमा निराशा, थकान, कुण्ठा, डर, त्रास र आक्रोशका असंख्य भावहरू सल्बलाइरहेको देखिन्थ्यो । मलाई देखेपछि उनीहरू थोरै हाँसे । फेरि गम्भीर भए ।
हामीले भलाकुसारी सुरु गर्यौँ । उनीहरू रहेछन्, जुगल गाउँपालिका–२ नाम्फा, सिन्धुपाल्चोकका दिलबहादुर तामाङ र वीरबहादुर तामाङ । नाताले काका–भतिज । उनीहरूले नाम्फागाउँदेखि लगभग तीन सय मिटर तल बगिरहेको ब्राम्हायणी नदीको कुरा सुरु गरे । माथिपट्टि सन्जगाउँ झुल्के, जहाँ डेढ सयभन्दा धेरै घरपरिवार बसोवास गर्छन् ।
दायाँतर्फ खेती गर्ने जमिन र बायाँतर्फ डरलाग्दो भिरको बीचमा छ, नाम्फागाउँ । ब्राम्हायणी नदीलाई तामाङहरू आफ्नो भाषामा राक्पालगान्धी भन्छन् । छेउमै बसेका काकाले थपे, ‘राक्पालगान्धीलाई ब्राम्हायणी नदी भन्नु थालेको धेरै वर्ष भएको छैन ।’ नाम्फामा तामाङ, भुजेल, केही दलित समुदाय र सिलवाल थरका क्षेत्रीहरूसमेत लगभग १५० घरपरिवारको बसोवास रहेछ । अधिकांश सिलवाल क्षेत्रीहरूले काठमाडौंमै घर बनाइसकेकाले कहिलेकाहीँ मात्रै त्यहाँ आउजाउ गर्दा रहेछन् । तर, जनजाति र दलित समुदायमा कसैको पनि काठमाडौंमा घर छैन ।
नाम परिवर्तन गरिएको ब्राम्हायणी नदी र मैयुङ खोलालाई त्यहाँका आदिवासी तामाङ समुदायले परापूर्वकालदेखि प्राकृतिक देवताका रूपमा कुखुरा र अन्डाद्वारा पूजा गर्दै आएका थिए । उनीहरू त्यहीँको पानी पिउँथे, पौडी खेल्थे र कहिलेकाहीँ माछा पनि मार्थे । जुन वेलासम्म ती प्राकृतिक सम्पदाहरूसँग त्यहाँका आदिवासी समुदायको घनिष्ट सम्बन्ध थियो, त्यसवेलासम्म त्यहाँ कुनै बिघ्नबाधा, प्राकृतिक विपत्ति आइपरेको थिएन । नाम्फा र नदीको सुमधुर सम्बन्धमा उनीहरूका पुस्तौँपुस्ताले खुसीसाथ दिनहरू बिताए ।
गाउँमा कुनै वर्ष अतिवृष्टि वा खडेरी पर्दा उनीहरू त्यही नदीमा घ्याप्पासै खेल्थे र पूजा गर्थे । तत्काल पानी पथ्र्यो, अतिवृष्टि भएको छ भने रोकिन्थ्यो र उनीहरूको कृषि जीवन सुचारु हुन्थ्यो । कहिलेकाहीँ घाँस–दाउरा गर्ने क्रममा लड्ने र एकाध दुर्घटना हुनेबाहेक अरू कुनै डरलाग्दो घटना सुनेका थिएनन् । त्यहाँको खोला, भिर, चट्टान र उकाली–ओरालीसँग सहकार्य गर्दै आएका उनीहरूको जीवन प्रक्रिया साँच्चै रमाइलो र लोभलाग्दो थियो ।
समय सधैँ एकनासको रहेन । नाम्फावासीका ती सुन्दर दिनहरू लुटिने क्रम सुरु भयो । ०७२ सालमा ब्राम्हायणी नदीमा बलेफी हाइड्रो पावर सञ्चालन गर्ने कुरा उठ्यो । गाउँका टाठाबाठाहरू सबैका कान ठाडा भए । उनीहरू हाइड्रोले प्राकृतिक असन्तुलन सिर्जना भई पूरै गाउँ नै उठिवास बनाउने कुरामा सचेत हुनुभन्दा हाइड्रोमा सेयर हाल्ने र नाफा कसरी कमाउने भन्नेमा ध्यान दिन थाले । विकासे योजना झोलामा बोकेर गाउँ छिरेका मानिसहरूको गज्जबको तरिका हुन्छ । उनीहरू कम्पनीको साइनबोर्ड बोकेर सोझै गाउँ छिर्दैनन् । स्थानीय केही टाठाबाठा र राजनीति बुझेकाहरूलाई कमिसनको लोभमा फसाएर काम लिन्छन् ।
प्रहरी, प्रशासन र गुन्डासमेतको मद्दत लिन्छन् । जाली कागज तयार गरेर ‘विकास’मा अवरोध पु¥याउनेहरूलाई मुद्दा हाल्छन् । बलेफी हाइड्रोले पनि त्यही कर्म गरे । बोल्न नसक्ने निमुखाहरूले काममा अवरोध गर्न खोज्दा ‘तिमीहरूलाई पनि बिस्तारै व्यवस्था गरौँला’ भन्ने आश्वासन दिए । यसरी हाइड्रोको सम्भाव्यता अध्ययन, वातावरणीय परीक्षणलगायत सबैखाले कागजपत्र भित्रभित्रै मिलाइयो । आम जनसरोकारको विषयमा सबैलाई राखेर सार्वजनिक सुनुवाइ गरेनन् । ती कागजमा के लेखिएको छ ? दिलबहादुर जस्ता भुइँमान्छेहरूलाई आफ्नो थातथलोबारे कस्ता–कस्ता किर्ते कागजपत्र बनाइए, केही पनि थाहा छैन ।
अहिले त्यहाँ सञ्चालनमा रहेको हाइड्रो मात्रै आधा दर्जनभन्दा बढी छन् भने सञ्चालन नगरी दर्ता मात्रै गरेर राखेका हाइड्रोहरू उत्तिकै संख्यामा रहेको अनुमान गरिएको छ । अपर बलेफी, याम्बालिङ, बिजी, बलेफी, सीता, ब्राम्हायणी र नेसम हाइड्रो पावर अहिले सञ्चालनमा छन् । ती सबै कम्पनीका मालिकहरू बाहिरका मान्छे हुन् । उनीहरूले स्थानीय जनप्रतिनिधिदेखि ठूला नेतासम्मलाई आफ्नो वशमा पारेका छन् । हाइड्रोमा को छिर्ने भन्ने पार्टीभित्र पनि विभिन्न गुटहरूको प्रतिस्पर्धा हुन्छ, किनकि चुनावमा हाइड्रो कम्पनीहरूले नेतालाई पैसा दिन्छन् ।
सामान्य जनताबाहेक अलिकति राजनीति बुझेका सबैलाई हाइड्रोले जुठो खुवाइदिएको छ । पीडितको पक्षमा उनीहरू बोल्दैनन् । तलका मानिसले आफ्नो पीडा माथि पुर्याउन सक्दैनन्, माथिकाले तलको कुरा बुझ्दैनन् र बीचको समन्वयकर्ता भन्नेहरूको मुखमा बुजो लागेको छ । जसले हाइड्रोको ठेक्कादेखि सेयर र कमिसन भ्याए, उनीहरूको काठमाडौंमा घर, डोजर, टिफर, गाडी छ । जसले यो पाएनन्, उनीहरू बोल्दे र नाम्फागाउँका बस्तीमा अत्यासलाग्दो लिदी घटना सम्झेर तर्सिरहेका छन् ।
गाउँलेलाई पर्याप्त सूचना नै नदिई जब हाइड्रोले ब्लास्टिङ पड्काउन थाल्यो, हाइड्रोभन्दा तीन सय मिटर माथिको नाम्फागाउँ पूरै थर्कियो । घर चर्किन थाले । गाउँलेहरू आत्तिँदै घरबाट बाहिर निस्किए । गाउँमा आएको विकासले यस्तो गर्ला भनेर उनीहरूले कहिल्यै सोचेका थिएनन् । अनावश्यक दोहनलाई प्रकृतिले थेग्न सकेन । आफू बस्ने घरको खाबोखुट्टी हल्लिन थाल्यो । खेती लगाएर वर्ष दिनभरि मुखमा माड लगाउने खेतीयोग्य जमिन कतै चिरा पर्ने त कतै भासिन थाले । जमिन थर्किंदा रूखमा सुकेका पातहरूसमेत झर्न थाले ।
पानीका मुहान सुके । ओथारो बसेका कुखुराका अन्डाबाट चल्ला कोरलिएन । खोलामा माछा हराउँदै गए । गाउँवरपर पहिरो जाँदा आदिवासीका पूजाथानहरू बगेर त्यसको नामोनिसान रहेन । ०७२ को भूकम्पको भन्दा ठूला पराकम्पले गाउँमा बसिनसक्नु भयो । हाइड्रोका बाहिरिया कामदारबाट छोरीचेलीहरू पनि असुरक्षित हुन थाले । त्यसपछि यी त्रसित मान्छेहरू ‘हाम्रो बस्ती सारिदेऊ’ भन्दै जिल्लाका प्रशासन प्रमुखदेखि हाइड्रोको कार्यालय र नेतासम्मलाई हारगुहार गर्न थाले, गरिरहेका छन् । तर, उनीहरूको कुरा सुन्ने कसले ! ‘उनीहरूले सिडिओको समेत आदेश मानेन हजुर,’ बीरबहादुरले निधार खुम्च्याउँदै भने ।
सिडिओको आदेशबमोजिम मुआब्जासमेत पाएनन् उनीहरूले । ‘हिउँदमा वस्तुभाउले पानी खाने कुवा छैन । बाजे, बराजुको पालादेखि असारमा रोपाइँ गर्दै आएका थियौँ, तर आजभोलि साउन अन्तिम सातातिर रोपाइँ गर्नुपर्छ । कहिले रोप्न ठीक पारेको बिउ त्यत्तिकै फ्याँक्नुपर्छ,’ वीरबहादुरले थपे, ‘लिदीमा पहिरो गएपछि त अझ त्रास बढेको छ, वर्षा सुरु हुनासाथ राति सुत्न सकिँदैन । कैयौँ रात जागा बसेका छौँ । नानीहरू बर्बराउँदै तर्सिएर मध्यरातमा उठ्छन् । बसौँ, कसरी बसौँ ? जाऊँ, कहाँ जाऊँ ?’
जुगल गाउँपालिकाको वडा नं. २ र ३ को सीमाक्षेत्रमा मात्रै आधा दर्जनभन्दा बढी हाइड्रो पावर सञ्चालनमा छन् । एकातिर भूकम्पको उच्च जोखिम क्षेत्र, अर्कोतिर गाउँ थेग्ने डाँडाकै फेदीमा हाइड्रोले सुरुङ खन्दा गाउँ पहिरोको उच्च जोखिममा छ । नाम्फाकै छिमेकी गाउँ बोल्देको फेदीमा सुरुङ खनेर खोला नै भासिएको छ । ब्लास्टिङ गर्दा उछिट्टिएका बमका टुक्राहरू खोलामा फ्याकेर प्रदूषित गरिएको छ । यसरी खोलामा फ्याँक्नु हुन्न भन्दा ‘अर्को ठाउँमा लगेर फ्याँक्न कसले खर्च दिन्छ ?’ भनेर उल्टै हप्काएको उनीहरू सम्झिन्छन् ।
विपत् व्यवस्थापन प्राधिकरणले जुगलका ती बस्तीहरू जोखिममा छन् भनेको पनि वर्षाें भइसक्यो । प्राधिकरणले बस्तीलाई अन्तै स्थानान्तरण गर भनेर प्रतिवेदन बुझाए पनि यसमा न राज्यले चासो देखायो, न सिन्धुपाल्चोकका ठूला नेताहरूले नै । नाम्फादेखि लगभग चार किलोमिटर टाढा पर्छ, लिदी गाउँ । ०७७ साउन ३० गते गएको पहिरोले लिदी गाउँलाई पुर्दा ३९ जनाको ज्यान गयो । पहिरोले दर्जनौँ घर बगायो र करोडाैँको धनजनको क्षति भयो ।
अहिले लिदी पहिरोपीडितहरूलाई त्यहाँका स्थानीय सरकारले जुगल गाउँपालिकाको वडा नं. १ स्थित बासखर्कमा अस्थायी शिविरमा राखेको छ । ती पीडित परिवारको स्थायी आवासको कुरा उठे पनि हालसम्म विभिन्न संघसंस्था र राज्यले तत्कालीन राहत उपलब्ध गराउनेबाहेक कुनै काम गरेको छैन । दिएको रकमसमेत सही रूपमा वितरण नभएको भन्दै दातृसंस्थाहरू खुसी छैनन् ।
आफ्ना आँखैअगाडि लिदी गाउँलाई पहिरोले पुरेको देखेका नाम्फावासी यतिवेला त्रासमा बाँचिरहेका छन् । कुन दिन आफूहरू लिदीमा झैँ पहिरोको मुखमा परिने हो ? ठेगान छैन । वीरबहादुर भन्छन्, ‘हामी त त्रास नै त्रासमा बाँचिरहेका छौँ ।’ उनीहरूको आँखाअगाडि सधैँ मृत्यु नाचिरहन्छ ।
गत असार २६ गते गाउँको दायाँबायाँ ठूलो पहिरो गयो । बाली लगाउने जग्गा केही बगायो, केही पुरियो । त्यसवेला गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले केही त्रिपाल ल्याएर दिएपछि १५, २० दिनसम्म गाउँलेहरू बाहिरै बसे, केही उपाय नलागेपछि फेरि घरमै सरे । ‘गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ आएर घरमा नबस्नू भनेका थिए । तर, हामीसँग केही उपाय छैन,’ बीरबहादुरले निराश हुँदै सुनाए । यतिसम्म बेहाल हुँदा हाइड्रो कम्पनीहरूले न कुनै रोजगारी दिएको छ, न त कुनै राहत नै ।
गाउँलेलाई पर्याप्त सूचना नै नदिई जब हाइड्रोले ब्लास्टिङ गर्न थाल्यो, हाइड्रोभन्दा तीन सय मिटरमाथिको नाम्फागाउँ पूरै थर्कियो । घर चर्किन थाले । गाउँलेहरू आत्तिँदै घरबाट बाहिर निस्किए । गाउँमा आएको विकासले यस्तो गर्ला भनेर उनीहरूले कहिल्यै सोचेका थिएनन् ।
०७६ सालदेखि निरन्तर जिल्लास्थित विभिन्न सरकारी कार्यालय र नेताका कार्यालय धाउँदा उनीहरूले एउटै आश्वासन पाए– तिमीहरूको बसोवासको व्यवस्था हुन्छ, हामी मिलाउँदै छाैँ, अब केही समय पर्ख । तर, आजसम्म कसैले केही पनि गरेका छैनन् । सिन्धुपाल्चोक जिल्लाबाट राजनीति गर्ने नेताहरू राज्यको ठूलै ठाउँमा पुगेका छन् । पूर्वमन्त्री पशुपतिशमशेर राणा, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री शेरबहादुर तामाङ र सभामुख अग्निप्रसाद सापकोटासमेत सिन्धुपाल्चोक जिल्लाकै हुन् । लिदी घटनामा पनि नेताहरू हेलिकोप्टर चढेर गए, केही राहतको पोका बाँडे, फेसबुकमा फोटा हाले र फर्किए । उनीहरूको स्थायी आवासबारे बोलेनन् ।
स्थानीयदेखि केन्द्रसम्मका ठूला नेताहरूको हाइड्रोमा सेयर छ । त्यहाँबाट भागबन्डामा धेरथोर सबैले कमिसन खाएका छन् । त्यसैले उनीहरू हुन्छ भनेर त बोल्छन् तर गर्न चाहँदैनन् । ‘बसेर बोलौँ कसैले सुन्दैन, उठेर बोलौँ बतासले उडाउँछ’ भने जस्तो अवस्थामा उनीहरू छन् । केही उपाय नभएपछि यतिवेला उनीहरू न्यायालयको ढोका घचघच्याउने सोचमा पुगेका छन् । झोलाबाट जिल्ला प्रशासनदेखि विभिन्न कार्यालयमा पेस गरेका निवेदनको पोको फुकाउँदै वीरबहादुरले भने, ‘अब नेताले केही नगर्ने भयो । अब अदालतमा जान्छौँ ।’
नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ लाई अनुमोदन गरेको छ भने आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्रमा समेत हस्ताक्षर गरेको छ । यी अन्तर्राष्ट्रिय अधिकारको नेपाल पक्षराष्ट्र हो । नेपालको सन्धि ऐनले त्यस्तो अन्तर्राष्ट्रिय अधिकारसँग बाझिने नेपालको प्रचलित ऐन, कानुन बाझिएको हदसम्म निष्क्रिय हुने भनेको छ ।
महासन्धि नं. १६९ ले आदिवासीको क्षेत्रमा त्यस्तो विकासको संरचना निर्माणअघि त्यहाँका स्थानीय तथा आदिवासी समुदायलाई सुसूचित गर्नुपर्ने र उनीहरूसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरेको छ । आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्रमा पनि सोही व्यवस्थालाई अझ फराकिलो ढंगमा व्यवस्था गरेको देखिन्छ । तर, यी सबै प्रक्रिया कागजमा मात्र सीमित पारियो ।
स्थानीयवासी यस्ता सन्धि सम्झौताबारे अनभिज्ञ छन् । हाइड्रोपावरका सञ्चालकहरू स्थानीयको मर्म बुझ्दैनन् । पीडितहरू विकासविरोधी होइनन् तर विकासको नाममा गरिएको विनाशको सिकार भएका छन् । नाम्फा, बोल्दे, लिदी, सन्जगाउँको पीडा सबैको उस्तै छ ।
हाइड्रो कम्पनीहरूबाट बोल्दे गाउँमा १४ सय, लिदी गाउँमा सात सय, सन्जगाउँमा पाँच सय, नाम्फामा पाँच सय र निम्लुङ गाउँमा ६ सयजना प्रत्यक्ष प्रभावित भएका छन् । बोल्दे गाउँका स्थानीय जनताले त संघर्ष समिति नै गठन गरेर आन्दोलन जारी राखेका छन् । ‘सम्बन्धित निकायमा उजुर गर्न जाँदा पनि गुन्डा लगाएर मार्ने हुन् कि भन्ने त्रास बोकेर हिँड्नुपर्छ,’ नाम नबताउने सर्तमा अर्का पीडितले सुनाए, ‘तँलाई मारेर खोलामा फ्याँकिदिन्छु भन्नेसम्मको धम्की आ’को छ हजुर ।’
जुन ठाउँमा विकास नामको हाइड्रो सञ्चालन भइरहेको छ, त्यही ठाउँका गाउँलेहरूको एउटै भनाइ छ, ‘हामीलाई सुरक्षित ठाउँमा सारिदेऊ ।’ तर, उनीहरूको आवाज सुन्ने कसले ? यस्ता अनुत्तरित प्रश्नहरू बोकेर दिलबहादुर र वीरबहादुरजस्ता भुइँमान्छेहरू जिल्लादेखि काठमाडौंसम्म धाइरहेका छन्, भौँतारिइरहेका छन् ।